एनपीएलमा प्रदर्शन हुने एआई रोबोट कुकुरको नाम ‘चङ्खे’ राखियो !


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा प्रदर्शन गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित रोबोट डगको नाम ‘चङ्खे’ तय गरिएको छ । ओमोडा एन्ड जेइकोले फेसबुकमार्फत आएका सुझावमध्येबाट यो नाम छनोट गरेको हो ।

१ मंसिरदेखि सुरु हुने एनपीएलमा कम्पनीले खेलाडी र दर्शकका लागि विशेष आकर्षणको रूपमा चार खुट्टे मेकानिकल कुकुर प्रदर्शनमा राख्दैछ । रोबोटलाई नेपाली नाम दिन उसले सामाजिक सञ्जालमार्फत आह्वान गरेको थियो । यसमध्ये ‘चङ्खे’ नाम छनोट गरिएको र उक्त नाम सिफारिस गर्ने फेसबुक प्रयोगकर्तालाई उपहार दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त रोबोट डगले मैदानमा दौडिन, उफ्रिन र विभिन्न आवाजका आदेशमा प्रतिक्रिया जनाउन सक्नेछ । अत्याधुनिक प्रविधिमा बनेको रोबोटमा क्यामेरा पनि जडान गरिएको छ । जसले मैदानको प्रत्यक्ष दृश्य कुकुरको नजरबाट दर्शकसमक्ष पुर्‍याउने कम्पनीले उद्देश्य राखेको छ ।

यो डाइनामिक मेकानिकल रोबोट चीनको चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा-जेइको सबब्रान्डले निर्माण गरेको हो । कम्पनीका अनुसार रोबोट डग एइमोगा टेक्नोलोजिज प्रालि (Aimoga Technologies) को प्रविधिमा आधारित छ ।

ओमोडा एन्ड जेइकोले एनपीएल दोस्रो सिजनमा पनि ‘म्यान अफ द टुर्नामेन्ट’ विजेतालाई आफ्नो एक प्रिमियम गाडी उपहारस्वरूप प्रदान गर्दैछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top