प्रधानमन्त्री कार्कीले प्रयोग गर्न मानिनन् ओलीले प्रयोग गरेका सोसल अकाउन्ट, बन्यो नयाँ !


काठमाडौं । सामान्यतया प्रधानमन्त्री पदबाट बिदा हुँदै गर्दा भावी प्रधानमन्त्रीलाई सामाजिक सञ्जालको युजरनेम र पासवर्ड पनि हस्तान्तरण गर्नुपर्छ । र, प्रधानमन्त्री पदमा जो आए पनि त्यही सामाजिक सञ्जालको अकाउन्ट प्रयोग गरिन्छ । किनकि त्यो सरकारको आधिकारिक हुन्छ ।

तर जेनजी युवा विद्रोहबाट सत्तामा आएकी सुशीला कार्कीले अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आएको सामाजिक सञ्जाल प्रयोग गरिनन् । उनले फेसबुक, एक्स (ट्वीटर) र इन्सटाग्रामको नयाँ अकाउन्ट प्रयोग गर्ने भएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवम् प्रवक्ता रविलाल पन्थले जारी गरेको प्रेस विज्ञप्तिमा अघिल्ला प्रधानमन्त्रीहरुले प्रयोग गर्दै आएको सामाजिक सञ्जालको भन्दा हालका प्रधानमन्त्री कार्कीले प्रयोग गर्ने अकाउन्टको फरक युजरनेम छ ।

अघिल्ला प्रधानमन्त्रीहरुले एक्समा @PM_nepal ह्याण्डल प्रयोग गर्दथे । तर प्रधानमन्त्री सुशीला कार्कीले अबदेखि एक्स ह्याण्डल @pmsushilakarki  प्रयोग गर्ने विज्ञप्तिमा उल्लेख छ।

किन यस्तो गरियो ?

हामीले यसबारे प्रधानमन्त्री कार्यालयका केही अधिकारीहरुसँग जिज्ञासा राखेका थियौं । उनीहरुका अनुसार प्रधानमन्त्री कार्कीले पुरानो अकाउन्ट नचलाउने बताएकी थिइन् । त्यसैले उनकै चाहना अनुसार नयाँ अकाउन्ट खोलिएको हो । ‘प्रधानमन्त्रीज्यूले पुरानो प्रयोग नगर्ने र नयाँ चलाउने भन्नुभयो, अनि त्यसैअनुसार गरियो,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल पनि पुरानो अकाउन्ट चलाउँदा अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीकै गतिविधिहरु देखिने भएकाले नयाँ प्रयोग गर्न थालिएको बताउँछन् ।

उनले भने, ‘हामीले नयाँ नै युज गरौं भनेर नै यसो गरेका हौं । अर्को सरकार आएपछि हामीले यो ह्याण्डओभर पनि गर्ने छौं ।’

ओलीको सचिवालयबाट एक्स अकाउन्ट मात्र हस्तान्तरण

खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले एक्स (ट्वीटर) अकाउन्ट मात्र हस्तान्तरण गरेको छ, त्यो पनि आइतबार मात्रै । फेसबुक र इन्स्टाग्राम भने अझै हस्तान्तरण भएको छैन । त्यसैले फेसबुक र इन्सटाग्राममा नयाँ अकाउन्ट खोलिएको खनालले बताए ।

अहिले प्रधानमन्त्री कार्कीको सचिवालयसँग ओलीको सचिवालयले चलाउँदै आएको @PM_nepal र नयाँ खोलिएको @pmsushilakarki दुवै एक्स अकाउन्टमा एक्सेस छ । तर धेरैजसो @pmsushilakarki अकाउन्ट प्रयोग गर्ने खनालले बताए ।

@pmsushilakarki एक्स अकाउन्टमा पोष्ट भएका कुनै–कुनै एकदमै आधिकारिक सरकारी सूचनाहरु छन् भने तिनलाई @PM_nepal बाट रिट्वीट गर्ने उनले जानकारी दिए ।

फेसबुक र इन्सटाग्राम म्यानेज गर्ने विषयमा प्राविधिक टोलीहरुसँग सल्लाह भइरहेको उनले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top