हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोग पुगेर दिए निवेदन


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले अनलाइनखबरसँग भन्यो ।

‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो । खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए ।

मेयर निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए । उनी सामाजिक सञ्जालमा पनि अत्यन्तै सक्रिय रहन्छन् ।

यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं आएका थिए । उनले सरकारको नेतृत्व आफैं गर्ने समेत बताएका थिए । नेपाली सेनाको मुख्यालयमा समेत पुगेका साम्पाङ सरकारमा समावेश नभएपछि धरान फर्किएका थिए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top