चीनमा पुटिनसँग ओलीको २५ मिनेट एक्लाएक्लै भेट, राखे यी तीन कुरा !


काठमाडौं । गत शनिबारबाट चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

उनीहरूबीचको यो भेटवार्तालाई नेपालमा चासोको रुपमा हेरिएको छ । शाङ्घाइ सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिने क्रममा चीनमा पुगेका उनीहरूबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

नेपाली भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, ओली–पुटिनबीच करिब २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको छ । ‘करिब ४० मिनेट द्विपक्षीय भेटघाट भयो,’ ती अधिकारीले भने, ‘सम्माननीय प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच २५ मिनेटजति वान टू वान वार्ता पनि भयो ।’

पुटिनसँग ओलीले राखे सिधा हवाई उडानसहितका यी तीन कुरा

प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले सो प्रस्ताव पुटिनसमक्ष राखेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै भ्रमण टोलीमा रहेका एक सरकारी अधिकारीका अनुसार, दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि प्रधानमन्त्री ओलीले प्रस्ताव राखेका छन् ।

‘रुस–नेपाल हवाइ उडान सिधै गर्नेगरी सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्रस्ताव भएको छ,’ ती अधिकारीले भने, ‘दुई देशबीचको सम्बन्ध अझै विस्तार गर्नेगरी अघि बढ्न पनि छलफल भएको छ ।’

त्यस्तै, रुसमा नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति पनि बढाउनेबारे छलफल भएको स्रोतले बतायो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top