रौतहट । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले एक भिडिओमार्फत रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । त्यसपछि उनी पक्राउ परेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अधुरो प्रेमले निम्त्याएको दुर्घटना: आखिर के भएको थियो ?
रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ का लक्ष्मण पासवान र सोही नगरपालिका २ नम्वरकी रूबीकुमारी साह स्थानीय विद्यालयको १० कक्षामा पढ्दापढ्दै गहिरो प्रेममा परे । उनीहरू एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे ।
स्कुले जीवन सकिएपछि उनीहरू बिहे गर्ने निधो गरे । तर, उनीहरूको बिहेको बाधक बन्यो रूबीको परिवार । दुई परिवारबीच धनी र गरिबको खाडल थियो । तुलनात्मक रूपमा लक्ष्मणको परिवारभन्दा अलिक सम्पन्न थियो । रूबीको परिवार पासवानलाई छोरी सुम्पिन तयार भएन ।
जानकारहरूका अनुसार रूबीको परिवारले लक्ष्मणसँग रूबीको बिहे अस्वीकार गरेपछि उनीहरू कोर्ट म्यारिज (अदालति विहे विवाह) गर्ने निधोमा पुगे । उनीहरूले जिल्ला अदालत सर्लाहीमा कोर्ट म्यारिज पनि गरे । यति गर्दा पनि रूबीको परिवार लक्ष्मणलाई ज्वाइँ स्वीकार्न तयार भएन । बरू भारतको मजफरपुरका शिवसागर साहसँग रुबीको विवाह गराइदिए ।
बिहेपछि रूबी भारतमै बस्थिन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रूबी नेपाल (माइती) आएपछि लक्ष्मणसँग सम्पर्कमा रहने गरेको अनुसन्धानबाट देखिएको छ । उनीहरूबीच फोनमा सम्पर्क हुने गरेको थियो । उनीहरूबीच भेटघाट पनि हुने गरेको हुनसक्ने कुरालाई नकार्न नसकिने प्रहरी स्रोत बताउँछ।
लक्ष्मण र रूबी अझै प्रेममा रहेको देखिएपछि प्रहरीले लक्ष्मणतिर अनुसन्धानको सुइ घुमाएको थियो । भारतमा बिहे गरेर गएकी रूबीको चार वर्षका छोरा छन् । छोरालाई पढाउने बहानामा उनी गौरमा भाडाको कोठामा बस्नु पनि लक्ष्मणसँगको प्रेमकै कारण भएको प्रहरी अधिकारीहरू बताउँछन् ।
‘अन्यत्र बिहे भइसकेपछि पनि रूबी लक्ष्मणसँग निरन्तर सम्पर्कमा देखिन्छिन्’, अनुसन्धानमा खटिएका प्रहरी अधिकारी भन्छन् झलक्ष्मणलाई छोड्न नसक्ने अवस्थामा पुगेपछि उनी छोरा पढाउने बहानामा नेपाल आएकी हुनसक्छिन् । भारतमा विद्यालय नहुने भन्ने त हुँदैन ।
प्रेम अधुरो हुँदा दुवैजना मानसिक तनावमा थिए । गत शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट फेसियल गर्न ब्यूटीपार्लर जाने भन्दै गौर बजार गएकी रुबी बेपत्ता भएकी थिइन् । उनी आइतवार श्रीमान् भेट्न भारत जाने तयारीमा थिइन् ।
उनको शव आइतवार बिहान सुटकेसमा प्याक गरेर फालेको अवस्थामा उनको गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा भेटिएको थियो ।

प्रहरीका अनुसार स्थानीयले शनिवार राति १० बजे नै बेलबिछुवाको प्रहरी चौकीमा फोन गरेर डोरीले बाँधिएको अवस्थामा सुटकेस फेला परेको सूचना दिएका थिए । सूचना पाए लगत्तै पुगेको प्रहरीले रातभरी उक्त शंकास्पद सुटकेशलाई पहरा दिएर बसिरह्यो । बिहान सुटकेस खानतलासी गर्दा शवलाई लुगाजसरी पट्याएर कोचिएको अवस्थामा फेला पर्यो ।
रूबीको चप्पल गौरस्थित लक्ष्मणको डेरामा फेला पारेकाले रूबी लक्ष्मणको डेरामा गएकी थिइन् वा लक्ष्मणले अन्यत्र हत्या गरेर चप्पल डेरामा लगेका थिए भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ ।
हत्या आरोपि लक्ष्मणले आत्मदाह गरेका छन् । उनलाई आज जलेर गम्भीर घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको थियो तर, उनको ज्यान जोगिएन ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ६ स्थित खेतमा पासवानको जलेको शरीर प्रहरीले फेला पारेको थियो । उनले आत्मदाह प्रयास गरेपछि स्थानीयले देखेर शरीरको आगो निभाइ प्रहरीलाई खबर गरेका थिए । उनी फेला परेको स्थान उनको घर नजिकैको क्षेत्र हो ।
आत्मदाह गर्नुअघि लक्ष्मणले एउटा भिडियो बनाएर सार्वजनिक गरेर हत्याको स्वीकारोक्ति गर्दै रूबीबिना आफू पनि बाँच्न नसक्ने बताएका थिए ।







