काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।
सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आएका हुन् । सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्री आजै सबै महत्वपूर्ण भेटवार्ता गरे ।
उनले राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओली, परराष्ट्र मन्त्री राणा, काँग्रेस सभापति देउवा, मओवादी केन्द्र अध्यक्ष प्रचण्ड सहितका शीर्ष भेटघाट गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीको निम्तो:
भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।
प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाँदैछन् । सोही भ्रमणको औपचारिक निमन्त्रणका लागि मिश्री आज काठमाडौं आएका हुन् ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता:
राष्ट्रपति रामचन्द्र पौडेलले एक मित्र एवं निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताएका छन् ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको शिष्टाचार भेटका क्रममा राष्ट्रपति पौडेलले भारतले गरेको प्रगतिबाट नेपाल लाभान्वित हुन चाहेको उल्लेख गरे ।
‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रुपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौँ, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिहरूबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ’, शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनले प्रेस सल्लाहकार किरण पोखरेलले भनेका छन् ।
नेपाल र भारतबीच शताब्दिऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित रहेको बताए ।
‘नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्रथामिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको ‘छिमेक पहिलो नीति’ को नेपाल सराहना गर्दछ’, राष्ट्रपति पौडेलले ध भने ।
भेटका अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएका थिए ।
विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टीभीटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिश्रीले द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिहरुबारे राष्ट्रपति पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराए ।

परराष्ट्रमन्त्री डा. राणासँग भेटवार्ता:
काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा. राणासँग भेटवार्ता गरेका हुन् ।
भेटपछि परराष्ट्रमन्त्री डा. राणाले सामाजिक सञ्चालमा लेखेकी छन्- हामीले हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा केन्द्रित हुँदै भारत-नेपाल सम्बन्धको पूर्ण दायराबारे छलफल गर्यौं। नेपालले भारतको छिमेकी पहिलो नीतिको कदर गर्दछ र हाम्रो द्विपक्षीय सम्बन्धको निरन्तर वृद्धिको अपेक्षा गर्दछ ।

सभापति देउवासँग भेटवार्ता:
मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग पनि भेटवार्ता गरेका हुन् । भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो । हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित घनिष्ठ र बहुआयामिक नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो ।

अध्यक्ष प्रचण्डसँग भेटवार्ता:
मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग समेत भेटवार्ता गरेका हुन् । भेटमा नेपाल -भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।







