युट्युबको मनिटाइजेसन नीतिमा परिवर्तन, मौलिक भिडिओले मात्रै पैसा कमाउने


काठमाडौं । लोकप्रिय भिडिओ प्लाटफर्म युट्युबले आफ्नो मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) मा महत्वपूर्ण परिवर्तन गरेको छ । युट्युबले आफ्नो युट्युब पार्टनर प्रोग्राम अन्तर्गत मनिटाइजेसन नीतिमा २०२५ जुलाई १५ देखि लागू हुने गरी महत्त्वपूर्ण परिवर्तनहरू ल्याएको छ।

यी परिवर्तनहरूले विशेषगरी अप्रामाणिक, ठूलो परिमाणमा उत्पादित, र दोहोरिने सामग्रीलाई लक्षित गरेका छन् । यी परिवर्तनहरूको उद्देश्य मौलिक र उपयोगी सामग्रीलाई प्रोत्साहन दिनु र कम गुणस्तरको वा स्पाम सामग्रीलाई नियन्त्रण गर्नु हो । थोकमा बनाइएका, बारम्बार एउटै शैली दोहोर्‍याइएका वा कम मिहिनेतमा तयार पारिएका भिडिओहरु युट्युबमा मनिटाइज हुनेछैनन् । अर्थात् त्यस्ता भिडिओहरु युट्युबमा जतिसुकै लोकप्रिय भएपनि आम्दानी हुने छैन् ।

युट्युबले आफ्नो आधिकारिक सपोर्ट  पेजमा नयाँ नीति सार्वजनिक गर्दै भनेको छ: हामी सधैं मौलिक र प्रामाणिक सामग्री चाहन्छौं, अब दोहोरिएका र थोकमा बनाइएका (मास-प्रोड्युस्ड) सामग्रीहरूलाई कडाइका साथ समीक्षा गरिनेछ ।

नयाँ नीतिको असर कसलाई पर्छ ?

यो नयाँ नियमले खासगरी एउटै स्क्रिप्ट वा टेम्प्लेटमा धेरै भिडिओ बनाउने, पुराना भिडिओलाई थोरै सम्पादन गरेर फेरी अपलोड गर्ने तथा क्लिकबेट थम्बनेल र कम प्रयासमा बनाइएका शर्ट्स अपलोड गर्ने युट्युबरलाई असर गर्नेछ । अब यस्ता सामग्रीले मनिटाइजेसनको अनुमति पाउने सम्भावना कम हुनेछ ।

साथै अब एआईको प्रयोग गरेर तयार गरिएका भिडिओहरुमाथि पनि युट्युबले निगरानी गर्नेछ । अरूको भिडिओमा एआई  आवाज राखेर रियाक्सन दिने वा पूर्ण रूपमा एआईले बनाएको स्क्रिप्ट र आवाज राखेर बनाइएका भिडिओहरु पनि अब यो नयाँ नियमको दायरामा पर्न सक्ने बताइएको छ ।

यो सँगै एआई टूल प्रयोग गरेर बनाइएका भिडिओले पैसा कमाउने बाटो बन्द हुँदैछ । यस्ता सामग्री अब कम मिहिनेतको, नक्कली वा पुनरावृत्ति मानिनेछ ।

मनिटाइजेसनको लागि चाहिने योग्यता

युट्युब च्यानललाई मनिटाइज गरी रकम आम्दानी गर्नका लागि युट्युब क्रिएटरले यस्ता मापदण्ड पूरा गर्नुपर्छ:

सामान्य भिडिओको हकमा: युट्यबु च्यानलमा १ हजार सब्सक्राइबर तथा पछिल्लो १ वर्षमा ४ हजार घण्टा वाच टाइम (भिडिओ हेरिएको) भएको ।

युट्युब शर्ट्सको हकमा: १ हजार सब्सक्राइबर तथा पछिल्लो ९० दिनमा १ करोड भ्यूज भएको ।

साथै कुनै प्रतिलिपी अधिकार उल्लंघनका साथै युट्युबको कुनैपनि नियम उल्लंघन गरी स्ट्राइक पाएको हुन नहुने ।

युट्युब क्रिएटरहरूले गर्न नहुने काम

१. अरूको सामग्री सिधै प्रयोग नगर्नुहोस् : अरूको भिडिओ वा स्क्रिप्टको आधार लिनुपर्ने भएमा पनि त्यसमा पर्याप्त परिमार्जन गरी नयाँ र मौलिक लाग्ने बनाउनुहोस् ।

२. बारम्बार एउटै किसिमको सामग्री नदोहोर्याउनुहोस् : एउटै ढाँचा, स्क्रिप्ट वा टेम्प्लेटमा भिडिओ बनाइरहने काम नगर्नुहोस् ।

३. एआई वा अन्य टुल्स प्रयोग गर्दा सावधानी अपनाउनुहोस् : भिडिओ तयार गर्दा एआईको सहयोग लिनु ठीकै हो । तर त्यसमा आफ्नै आवाज, विश्लेषण वा व्यक्तिगत टच पनि दिनुपर्छ ।

युट्युबले किन नयाँ नियम ल्याउँदैछ ?

युट्युबमा दिनहुँ करोडौँ भिडिओहरू अपलोड हुन्छन् । तर तीमध्ये धेरैजसो सामग्री सतही, दोहोरिएको वा कम मिहिनेतमा बनाइएको हुन सक्छ ।

यस्ता भिडिओले प्लेटफर्मको गुणस्तर घटाउने, विज्ञापनदाताको विश्वास गुमाउने र प्रयोगकर्ताको अनुभव बिगार्ने जोखिम बढाउँछ । त्यसैले युट्यबुले ओरिजिनल  तथा उच्च गुणस्तरीय सामग्रीलाई प्राथमिकता दिँदैछ । यसले राम्रा क्रिएटरहरूलाई प्रोत्साहन गर्नेछ भने प्लाटफर्ममा सस्तो भीड बनाउने प्रवृत्तिलाई रोक्नेछ ।

यसर्थ युट्युबको यो नयाँ नियम क्रिएटरहरूका लागि अवसरसँगै चुनौति पनि हो । मिहिनेत गरेर मौलिक, विचारपूर्ण र दर्शकमैत्री सामग्री बनाउने युट्युबरले अब अझ धेरै आम्दानी गर्न सक्नेछन् भने चोरचार पार्ने र जोडजाड पारेर थोकमा भिडिओ तयार पारेर अपलोड गर्नेका लागि युट्युबबाट आम्दानीको बाटो बन्द हुन सक्नेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top