खार्मी खोटाङ । खार्मीका बर्तमान वडा-अध्यक्ष ईख बहादुर राईको कार्यकालमा खोटाङमा ठूलो बजेट भित्रिएको छ । तर बजेट भित्राउन अध्यक्ष राईलाई सहज भने थिएन । मन्त्री र अध्यक्षको पार्टी नै फरक भइरहँदा पूर्व अध्यक्ष र स्थानीय केही नेताहरुको निरन्तर प्रयासले खार्मीको विकासको ढोका खोलेको चर्चा यति बेला खोटाङबासीमा छ ।
चुनावमा पराजित भए पनि गाउँको विकासप्रति लगाव राख्ने पूर्व वडाध्यक्ष रामचन्द्र राई र अन्य स्थानीय नेताको पहलमा खोटाङ खार्मीमा इतिहासकै ठूलो बजेट आएको हो ।
कोशी प्रदेश महामन्त्री तथा प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री माननीय भूपेन्द्र राईकै पार्टीबाट रहेका पूर्व अध्यक्ष राईको पहल बढि प्रभावकारी बनेको टिप्पणी भइरहेको छ । यसरी खोटाङको खार्मी क्षेत्रका दुई महत्त्वपूर्ण सडक योजनाका लागि कुल ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो ।
पार्टी फरक हुँदा बजेट ल्याउन पनि गाह्रो हुने व्यथालाई खोटेहाङ्ग टाइगर नामले फेस्बुक चलाउने अध्यक्ष राईले अफैंले पनि स्वीकार गरेका छन् ।

यस योजनाअन्तर्गत दिक्तेल-खार्मी-बाक्सिला सडक कालोपत्रे गर्न ५० लाख र हुर्लुङ-खार्मी–पाथेका-खार्ताम्छा-फेदी हुँदै भोजपुर जोड्ने सडकको लागि २५ लाख बजेट व्यवस्था गरिएको हो।
यो बजेट व्यवस्थापनका लागि पूर्ववडाध्यक्ष रामचन्द्र राईले निर्णायक भूमिका खेलेका छन्। निर्वाचनमा पराजित भए पनि उनले आफ्नो गाउँको हितलाई प्राथमिकता दिँदै निरन्तर प्रयास जारी राखेका थिए। मन्त्री राईसँग समन्वय गरी उनले खार्मी क्षेत्रका जनताको माग र आवश्यकतालाई प्रदेश सरकारसम्म पुर्याए। त्यसकै फलस्वरूप खार्मी क्षेत्रले यसपटकको प्रदेश बजेटमा स्पष्ट स्थान पाएको छ।
योजना क्रमागत बजेटमार्फत अघि बढाइने भएकाले प्रत्येक वर्ष सडक स्तरउन्नति हुँदै लैजाने सरकारको योजना छ। यसबाट खार्मी मात्र होइन, त्यस आसपासका उभोखोले, पाथेका, खार्ताम्छा, फेदी लगायतका बस्तीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमार्फत मन्त्री राईप्रति आभार व्यक्त गर्दै रामचन्द्र राईको नेतृत्व क्षमता र दूरदर्शिताको प्रशंसा गरेका छन्।






