काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरी स्रोतका अनुसार विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रहरीले आधिकारीक रुपमा बोल्न नमाने पनि पाठकले ‘टफ टक विथ दिल भुषण पाठक’ नामक युट्युब च्यानलमा अपलोड गरेको भिडियोलाई लिएर उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ ।
पाठकले केही समय अघि हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री अपलोड गरेका थिए ।
उक्त भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको सम्पत्तिका विषयमा प्रश्न गरेका थिए । पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
घटना के हो ?
पाठकले तीन हप्ता अगाडि आफ्नो युट्युब च्यानलमा हिल्टन होटलको शेयर खरिदबिक्रीसँग सम्बन्धित सामग्री पोष्ट गरेका थिए ।
त्यसमा पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरबारे चर्चा गर्दै दुबई, अष्ट्रेलिया हुँदै क्यानडासम्म रियलस्टेट बिजनेस फैलाएको र शंकर ग्रुपको मुख्य लगानी रहेको नक्शालस्थित पाँचतारे होटल हिल्टनमा पनि जोडिएको दाबी गरेका छन् । साथै उनले जयवीरको सम्पत्तिमा पनि प्रश्न उठाएका छन् ।
यस सम्बन्धमा शंकर ग्रुपले गत वैशाख २१ गते विज्ञप्ति जारी गरेर खण्डन गरेको थियो । साथै त्यसविरुद्ध कानुनी प्रक्रिया अपनाउने उल्लेख पनि गरेको थियो ।
विज्ञप्तिमा लेखिएको छ, ‘राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सृजना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने कार्य भए गरेको प्रति गम्भिर आपत्ती जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौं ।’






