भिजिट भिसा प्रकरण : संयन्त्र कि छानबिन समिति भन्नेमा छलफल जारी


 काठमाडौं । भिजिट भिसा प्रकरणमा दलहरू सहमतिको प्रयासमा छन् । सहमतिको भाषा के गर्ने भन्नेमा कुरा मिलेको छैन । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दैछ । त्यस अगाडि सहमतिको प्रयास हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे बताउँछन् ।

दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन् । नेताहरूका अनुसार सहमतिको मस्यौदामा सहमति खोजिँदैछ ।

सत्तापक्षले सहमतिको मस्यौदा बनाउने जिम्मेवारी लिएको छ । त्यसअनुसार सत्तापक्षले ल्याएको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउने उल्लेख छ ।

दोस्रो बुँदामा अख्तियारले अनुसन्धान सकाएपछि ‘समग्रतामा हेर्न आवश्यक संयन्त्र व्यवस्था गर्ने’ भनिएको छ । सत्तापक्षले ल्याएको यस्तो भाषामा विपक्षीले असहमति जनाएका छन् ।

माओवादी र रास्वपाले ‘संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति’ भन्ने शब्द राख्नुपर्ने प्रस्ताव राखेका छन् । दुई पक्षले राखेको भाषालाई मिलाएर साझा मस्यौदा बनाउने पर्यास हुने नेताहरू बताउँछन् ।

विपक्षी दलहरूले जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको विषय उठाएर प्रतिनिधि सभाको बैठक चल्न दिएका छैनन् । आज सहमति भए दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक कार्यसूचीमा अगाडि बढ्नेछ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top