काठमाडौं । देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘भारतबाट विद्युत् आयात गर्ने ढल्केवर-मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्याआई विद्युत् प्रणाली अवरुद्ध भएको हो।’
उनले देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको बताए । भारतपट्टीको क्षेत्रमा समस्या आउँदा यहाँ विद्युत् आपूर्ति हुन नसकेको उनको भनाइ छ ।

निर्देशकले गरे निरीक्षण
विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्यूचाटारको निरीक्षण गरेका छन् ।
प्रणालीमा समस्या देखिएपछि कार्यकारी निर्देशक शाक्यले आकस्मिक अवलोकन गरेका हुन् । विभागमा प्रत्यक्ष रूपमा बसेर उनले ढल्केबर ग्रीड महाशाखाका प्रमुख बिनोद लोहनीलाई निर्देशन दिई समस्या समाधानका लागि अग्रसरता लिएका छन् ।
भारतबाट नेपालमा हाल बिजुली आयात भइरहेको ४०० केभी ढल्केबर मुजफरपुर लाइनमा भारततर्फ आएको समस्याले गर्दा पटक-पटक विद्युत अवरुद्ध भइरहेको छ ।
‘विशुद्ध प्राविधिक समस्याको कारण विद्युत प्रसारण पटक-पटक अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । ‘यो विशुद्ध प्राविधिक समस्या हो । त्यसैले यसलाई लोडसेडिङ जोड्ने गलत छ ।’ उनले भने ।
आजै तीनपटकसम्म प्रसारण अवरुद्ध भएको छ । पहिलोपटक साँझ साढे ६ बजेतिर अवरुद्ध भएको बिजुली करिब एक घण्टापछि आएको थियो । करिब ८ बजे पुनः आएको बिजुली १५ मिनेटपछि पुनः अवरुद्ध भएको छ । यसबाट काठमाडौंसहित देशको अधिकांशको जनजीवन प्रभावित बनेको छ ।






