भारतीय प्रधानमन्त्रीको दाबीः हाम्रो आक्रामक कारबाहीपछि पाकिस्तानले दुनियाँसँग गुहार मागिरह्यो


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुको आक्रामक कारबाहीमा पाकिस्तानले तनाव कम गर्न दुनियाँ भरका मुलुकसँग सहयोग मागेको बताएका छन् ।

सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘पाकिस्तानको तयारी सीमामा युद्ध गर्ने थियो तर, भारतले पाकिस्तानको छातीमै वार गरिदियो । भारतको ड्रोन, मिसाइलले सटिकताका साथ हमला गर्‍यो । पाकिस्तानी वायु सेनाको एयर वेश ध्वस्त गरिदियो ।’

जे कुरामा पाकिस्तानको एकदम घमण्ड थियो, भारतले पहिलो तीन दिनमै ध्वस्त पारिदिएको भन्दै मोदीले भने, ‘त्यसको पाकिस्तानलाई अन्दाज पनि थिएन, त्यसैले भारतको आक्रमक कारबाहीपछि पाकिस्तान बच्ने बोटो खोज्नतिर लाग्यो ।’

भारतको कारबाहीपछि पाकिस्तान दुनियाँभरमा तनाव कम गर्न गुहार माग्नतिर लागेको भन्दै मोदीले रक्षात्मक स्थितिमा शनिबार भारतीय सेनाको डिजीएमओ (डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) लाई पाकिस्तानले सम्पर्क गरेको बताए ।

‘त्यतिञ्जेल हामीले आतंकवादको संरचनाको ठूलो रुपमा ध्वस्त पारिसकेको थियौं, आतंककारीलाई मारिसकेका थियौंं’, उनले थपे, ‘पाकिस्तानको छातीमा बसाइएको आतंकको अड्डालाई खण्डहर बनाइसकेका थियौं ।’

भारत प्रशासित जम्मु कश्मिरमा १० वैशाखमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो । त्यसको दुई सातापछि आतंकवादविरुद्धको कारबाही भन्दै भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा हवाई आक्रमण गरेको थियो ।

त्यो आक्रमणमा एक सयभन्दा बढी खुंखार आतंकवादीलाई मारिएको मोदीले दाबी गरेका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top