काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना मारिएको जनाएको छ । मृतकहरुको विवरणमा सन्दिप न्यौपाने र उनको देश नेपाल उल्लेख छ ।
त्यसभन्दा मुनि बितन अधिकारीको नाम समेत छ । अधिकारी थर भएकाले कतिपयले दुई जना नेपाली मारिएको लेखेका छन् । तर अधिकारीको देश खुलाइएको छैन । त्यसैले हालसम्म एक जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
नेपालको सरकारी निकायबाट भने यसबारे कुनै विवरण सार्वजनिक भएको छैन । जम्मुकश्मिरमा पर्ने पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरेर नै आक्रमण भएको थियो । बैसारन पहलगामबाट ६ किलोमिटर टाढा पर्दछ ।
भारतीय मिडियाहरुका अनुसार बैसारन सुन्दर भएकाले ‘मिनी स्विटजरल्याण्ड’ भन्ने गरिन्छ । सो स्थान पर्यटकमाझ चर्चित छ ।

रुपन्देहीका सुदीप आमासँग घुम्न गएका थिए
गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी गराएका छन् ।नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा घुम्न गएका बेला उक्त हमलामा परी मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी गराएका हुन् ।
‘रुपन्देहीको सन्दिप न्यौपाने आफ्नो आमासहित घुम्न जानु भएको थियो, त्यसक्रममा यस्तो घटना भएको जानकारी आएको छ’, बिहीबार सुरक्षा संवाददाताहरुसँग अन्तरक्रियाका क्रममा उनले भने, ‘यो प्रारम्भिक जानकारी हो ।’
दूतावासमा समेत सम्पर्क गरेर थप विवरण लिने काम भइरहेको उनले बताएका छन् ।







