काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आइतबार प्रदर्शनमा नियन्त्रणमा रहेका सातै जनालाई प्रहरीले छाडेको छ । नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुर्याइएका सातै जनालाई छाडिएको परिसरका एसपी अपील राज बोहराले बताए ।
छुट्नेहरुमा अध्यक्ष लिङ्दनेसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र राप्रपाको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल छन् ।
उनीहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको उनीसहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो आजको आन्दोलन सफल भयो । आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन । त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं ।’
त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे ।






