विमानस्थलमा युवकलाई लछारपछार गरेका तीन जना प्रहरी जिम्मेवारीबाट हटाइए


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका पुरूषलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन्।

विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा झिकाएको एसएसपी शेखर खनालले जानकारी दिए।

उनले तीन जनाको जिम्मेवारी खोसेर आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जनाएको छ। युएईबाट फर्किएका मोरङका सञ्जय ओझामाथि विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएको थियो।

उक्त भिडिओ भाइरल भएपछि कार्यालयले छानबिन प्रक्रिया अघि बढाएको हो।  आइतबार बिहान ११ बजेतिर ओझा युएईबाट फर्किएपछि आफन्तलाई कुरिरहेका थिए। त्यही बेलामा एक युवकले उनीसँग ट्याक्सीबारे सोधिखोजी गरेका थिए।

त्यसपछि प्रहरीसँग पनि विवाद भएपछि लछारपछार पारेर उनलाई आगमन कक्ष भित्र लगेको देखिएको हो। उनलाई प्रहरीले केही पटक हिर्काएको पनि देखिएको थियो। प्रहरीले विमानस्थलमा ओझामाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भइरहेको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top