काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने निर्णय दुईतिहाइ बहुमतको दम्भमा गरिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले निन्दा गरेका छन् ।
मन्त्रिपरिषद्ले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गर्दै उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको हो । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहाल प्रचण्डले सरकारको यो कदम आपत्तिजनक र गलत भएको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- कुलमान घिसिङलाई बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु ।’
देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा आफू नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको उनले उल्लेख गरेका छन् ।
दाहालले घिसिङको विज्ञता र क्षमता अनि आफू नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण भएको जनजनमा जानकारी रहेको पनि बताएका छन् ।






