नेपाल प्रहरीको ३१ औं प्रमुखमा दिपक थापा नियुक्त, सशक्त प्रस्तुत हुने आईजीपी थापाको घोषणा !


काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रमुखमा दिपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो।

सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३०औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन् । त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो । प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए ।

नवनियुक्त प्रहरी प्रमुख थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरिरहेका थिए । तामाङ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख छन् ।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ । त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ ।

यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए । यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ ।

नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् । गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग पाइराख्ने उनले विश्वास व्यक्त गरे ।

उनलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको थियो । मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिए । उनले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन् ।

को हुन् थापा ?

भक्तपुरको तत्कालीन सिपाडोलका स्थायीवासी थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए । उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।

भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।

उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।

तर, तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।

कुँवरको बिदाइ कार्यक्रम प्रहरी प्रधान कार्यालयमा साँझ ५ बजे राखिएको छ । प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।

प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।

बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका छन् ।

एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरे । पछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरे ।

३० वर्षे सेवा अवधि नहटे थापा ६ महिनापछि अवकाशमा जानेछन् । संसद्‌मा प्रहरी ऐनको प्रस्तावित विधेयक दर्ता छ । यो अवधिमा विधेयक पारित भए उनले थप ६ महिना प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top