काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जिल्लाका केही क्षेत्रमा दुई महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाको निर्णय गरेपछि गणतन्त्रको जग हल्लिएको प्रतिक्रिया दिएका छन् ।
सोमबार राति अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको पत्र पोष्ट गर्दै लेखेका छन्- ‘गणतन्त्रको जग हल्लिएछ : गणतन्त्र कति कमजोर छ भन्ने यो निषेधाज्ञाले प्रमाणित गर्यो ।’

जिल्ला प्रशासन कार्यालयले फागुन २५ गते आइतबारदेखि लागू हुने गरी भीभीआइपी र भीआइपीहरुको ओहोरदोहोर हुने, वासस्थान लगायतका क्षेत्रमा २ महिने निषेधाज्ञा जारी गरेको हो । जसमा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय वरपर, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन वरपर निषेधित क्षेत्रका रूपमा परेका छन् ।
प्रशासनले निषेधाज्ञा जारी गरेका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर नारा, जुलुस, धर्ना, घेराउ, प्रदर्शन गर्न नपाइने जनाएको छ ।








