हामी सुशासन मान्छौँ र विधिको शासन मान्छौँ भन्दै राप्रपाले तिर्यो काठमाडौं महानगरलाई एक लाख जरिवाना !


काठमाडौं । राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना तिरेको छ । प्रवक्ता ज्ञानेन्द्र शाहीले महानगरपालिका पुगेर जरिवाना स्वरूप एक लाख रुपैयाँ महानगरलाई तिरेका हुन् ।

उनले महानगरलाई जरिवाना तिरेपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा राप्रपालगायत राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।

यस क्रममा महानगरपालिका क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवानाको पत्र काटेको थियो ।

‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ । राजाको स्वागतमा आएका लाखौँ आमाबुवा, दाजुभाइ–बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौँ,’ उनले भनेका छन् ।

यसअघि पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा गरिएको प्रदर्शनका क्रममा फोहोर गरेको र र्यालिङ भाँचेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो ।

उक्त प्रदर्शनमा सहभागी अर्को दल राप्रपा नेपाल र आफूलाई अभियन्ता भन्दै आएका राजावादी दुर्गा प्रसाईंका समर्थकहरू पनि सहभागी थिए । तर, महानगरपालिकाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई मात्रै जरिवाना गराएको थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top