काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् ।सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’
सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए ।
‘यो प्रदर्शनले केही मन मुटु हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ? यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन । सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ ।’
अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।






