कोहलीको नाटकीय शतकमा पाकिस्तानमाथि भारतको सानदार जित


काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ। आइतबार दुबईमा भएको खेलमा पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले विराट कोहलीको शतकमा ४२.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

प्रतियोगिताको आयोजक पाकिस्तान भए पनि यो खेल दुबईमा भएको हो। भारतले सुरक्षाको कारण देखाउँदै पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि भारतका सबै खेल युएईमा हुँदैछन्।

आइतबार भारतको जितमा विराट कोहलीले नटआउट १०० रन जोडे। नाटकीय रुपमा उनले शतक आफ्नो पक्षमा पारे । उनले १११ बलमा ७ चौका प्रहार गरे। कोहलीको यो ५१औं एकदिवसीय शतक हो। उनले अन्तर्राष्ट्रिय खेलमा आफ्नो कुल शतक ८२ पुर्‍याएका छन्।

कोहलीसँगै भारतका लागि श्रेयस अय्यरले ५६ रन र शुभमन गिलले ४६ रनको योगदान दिए।  बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिन सफल भए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान अन्तिम दुई बल खेल्न बाँकी छदा २४१ रनमा अलआउट भयो। पाकिस्तानका लागि साउद शकीलले ६२ रन बनाए। कप्तान मोहमद रिजवानले ४६ रन बनाउँदा खुसदिल शाहले ३८ रनको योगदान दिए।

पाकिस्तानका अरू ब्याटर खासै चल्न सकेनन्।‍ बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट हात पार्दा हर्षित राना, अक्षर पटेल र रवीन्द्र जडेजाले १-१ विकेट हात पारे।

पाकिस्तानमा २९ वर्षपछि आइसिसी प्रतियोगिता भए पनि उसले भारत विरूद्धको खेल भने देशबाहिर खेल्नु पर्ने बाध्यता छ। समूह ‘ए’ मा रहेका भारतले दुवै खेलमा जित निकाल्दा पाकिस्तानले दुवै खेलमा हार ब्यहोरेको छ।

यसअघ भारतले बंगलादेशलाई पराजित गरेको थियो। तर पाकिस्तानले भने घरेलु मैदानमा न्युजिल्यान्डसँग हार ब्यहोरेको थियो। सेमिफाइनल सम्भावना कायम राख्न पाकिस्तानले आज भारतलाई पराजित पर्नु बाध्यता थियो। आजको खेलमा पराजित भएपछि सेमिफइनल पुग्न पाकिस्तानको सम्भावना न्यून बनेको छ।

समूहको अर्को खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पराजित गरे भारत र न्युजिल्यान्ड अन्तिम चारमा पुग्दा पाकिस्तान र बंगलादेश बाहिरिनेछन्। बंगलादेशले जित निकाले मात्र पाकिस्तानको सम्भावना हुनेछ। दोस्रो खेलमा बंगलादेशले जित निकाले तथा समूहको अन्तिम खेलमा भारत र पाकिस्तान विजयी भए पाकिस्तानको अन्तिम चारको सम्भावना हुनेछ।

एकदिवसीय खेलमा पाकिस्तानले भारतसँग पछिल्लो आठ वर्षमा तेस्रो खेल खेलेको हो। सन् २०१७ को पछिल्लो च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतमाथि १८० रनको जित निकालेको थियो। सन् २०२३ को विश्वकपमा भने भारतले घरेलु मैदानमा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो।

भारत र पाकिस्तानबीच सन् २०११ यता टी-२० र एकदिवसीयका आजसम्म कुल १४ वटा खेल भएका छन्। जसमा भारतले दुई खेल मात्र गुमाएको छ।

सन् २०१७ को च्याम्पियन्स ट्रफी १८० रन र २०२१ मा भएको टी-२० विश्वकपमा १० विकेटको जित निकाल्नुबाहेक पाकिस्तानले भारतविरूद्ध आजको खेलसहित १२ खेलमा हार ब्यहोरेको छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top