काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आएका छन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका हुन् ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । मेयर साम्पाङले भोलि (मंगलबार) रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्ने बताएका छन् ।
मेयर साम्पाङले धरान खानेपानी विकास निमार्णका लागि सरकारसँग ५ अर्बको बजेट माग गरेका छन् । साथै उनले काठमाडौं बाहिर पनि नेपाल छ भनेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।
खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेका छन् ।






