काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले प्रमुख प्रायोजकको रूपमा डीएनए इन्टरनेसनल नेपालसँग प्रायोजन सम्झौता गरेको छ ।
रन्जना ट्रेड सेन्टरको आधिकारिक बिक्रेता रहेको डीएनए इन्टरनेसनल कपडा उत्पादन कम्पनी हो । जनकपुर बोल्ट्सका महाप्रबन्धक नीरज खतिवडा र डीएनएका प्रबन्ध निर्देशक अनुप घिमिरेले मंगलबार सम्झौता-पत्रमा हस्ताक्षर गरे । दुवै पक्षले आर्थिक पक्ष भने खुलाएका छैनन् । ८ वर्षअघि नेपालमा स्थापना भएको डीएनए कम्पनीले अहिले नेपालमा आफ्नो बजार विस्तार गरिरहेको र भविष्यमा एमेजनजस्ता प्लेटफर्महरूबाट विश्व बजारमा जाने योजनामा रहेको छ ।
‘एनपीएलका लागि जनकपुर बोल्ट्समा आबद्ध हुने मौका पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । हाम्रो कम्पनी नेपालमा व्यवसाय गरी गुणस्तरीय उद्पादनसहित आएको छ, पछिल्ला केही वर्षमा यसले ठूलो इभेन्टसँग पनि आबद्ध हुँदै आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथ हामीलाई ठूलो प्लेटफर्म हुनेछ,’ घिमिरेले भने ।

जनकपुर बोल्ट्सका महाप्रबन्धक खतिवडाले डीएनएको साथमा एनपीएलका लागि मैदानमा उत्रन जनकपुरले बलियो आधार पाएको जनाए । एनपीएलको पहिलो संस्करण शनिबार सुरु हुँदै छ । ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको जनकपुरले विराटनगर किंग्ससँग प्रतियोगिताको पहिलो खेलमा खेल्नेछ ।
आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका चर्चित क्रिकेटर जिम्मी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी खेलाडीमा लाहिरु मिलान्थालगायतका छन् । मुख्य प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल छन् । दुई पटकको नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक रहिसकेका दासानायके एनपीएलमा बोल्ट्समार्फत पुनः नेपाल फर्किएका हुन् ।





