बालेनले स्टन्ट गरे, एमालेविरूद्ध परिचालित छन् भन्ने बुझ्न सकिन्छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टी भएको बताएका छन्। शुक्रबार एमालेको जागरण सभाका कारण दरबारमार्गमा फोहोर भएको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको थियो।

फेसबुकमा स्टाटस लेख्दै  एमाले महासचिव पोखरेलले सोही पर्चाबाट बालेन एमालेविरूद्ध परिचालित छन् भन्ने पुष्टी हुने बताएका हुन्। उनले कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाइ आयोजकका तर्फबाट भएको र संकलित फोहोरलाई उठाउन महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको भनेका छन्।

‘अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो,’ महासचिव पोखरेलले भनेका थिए।

उनले यसलाई मेयर बालेनको स्टण्टबाजी पनि भनेका छन्। ‘नेकपा(एमाले) पार्टी आफ्नो कार्यक्रम पछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का भएन मेयर बालेनलाई । जागरण सभा यस प्रकारका स्टण्टवाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो,’ महासचिव पोखरेलले लेखेका छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top