काठमाडौं । १९ वर्ष मुनिको महिला टी-२० फर्म्याटमा नेपालले उच्च स्कोरको रेकर्ड तोडेको छ। मंगलबार यू-१९ महिला विश्वकप एसिया क्वालिफायरमा नेपालले कुवेतविरुद्ध उच्च स्कोर बनाएको हो ।
कुवेतविरुद्ध नेपालले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाउँदै २१३ रनको विशाल स्कोर खडा गरेको हो । यसअघि उच्च स्कोर भुटानविरुद्ध यूएईको थियो । सन् २०२२ मा भएको एसिया क्वालिफायरमा यूएईले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।
नेपालको उच्च स्कोरका लागि कप्तान पूजा महतोले ५७ बलमै १२ चौकाको सहयोमा विष्फोटक शतक प्रहार गरिन् । खेलको अन्त्यसम्म उनले ६९ बल खेल्दै नटआउट १३० रनको इनिङ्स खेलिन् ।
सोनी पाख्रिनेले पनि ३३ बलमा नटआउट ४३ रन बनाइन् । पूजा महतो यो उमेर समूहमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेकी छिन् । यस्तै महिला क्रिकेट इतिहासमा भने उनी शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेकी छिन् ।
यस्तै आजकै खेलमा नेपालको उच्च स्कोरको पाट्नरसिपसमेत भएको छ । पूजा महतो र सोनी पाख्रिनले नटआउट १५७ रनको साझेदारी गरेका हुन् ।






