काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ नारासहित आजदेखि काठमाडौँमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बद्री केसी पक्षले ‘ग्लोबल’ सम्मेलन आयोजना गर्दै छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ ।
दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायत सत्रहरू रहनेछन् ।
आपसमा रहेको मतभिन्नता र मतभेदलाई संवादले नै चिरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै महासचिव जोशीले गैरआवासीय नेपाली दिवसको कार्यक्रममा एकताकै लागि छलफल गर्न तथा आआफ्नो विचार राखी योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपाली अभियन्तामा अनुरोध गरे ।
अहिले एनआरएनएकै अर्को समूहले भने परराष्ट्रले एकताको महाधिवेशनका लागि पूर्वअध्यक्ष शेष घलेलाई पत्र पठाइसकेको अवस्थामा केसी पक्षले साधारण सभा गर्न लागेको भन्दै विरोध गरेको छ । एनआरएनएमा विगत केही समययता विवाद चर्किँदै गएपनि समाधान हुन सकेको छैन ।





