उपसभामुखको बचाउमा रास्वपा, ‘राना निर्दोष हुनुहुन्छ’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘पाँच नेपालीलाई अमेरिका लैजान दूतावासलाई पत्र लेखेको’ आरोप लागेकी उपसभामुख इन्दिरा रानाको बचाउ गरेको छ । रानाले पदीय दुरुपयोग गरेको दाबी गर्दै सत्तारुढ नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका बेला रास्वपाले आज (आइतबार) बिहान विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेको हो ।

‘केही समयअघि उक्त विषय (रानाविरुद्धको आरोप) बारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देशबाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन’, रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राना रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् । ‘विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन, भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ’, रास्वपाले विज्ञप्तिमार्फत भनेको छ, ‘उपसभामुखज्यूलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए÷नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैँ रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ ।’

यस क्रममा रास्वपाले निष्कलंक छविकै कारण रानालाई सांसद र उपसभामुखको उम्मेदवार बनाएको दाबी पनि रास्वपाले गरेको छ । साथै हाल उनी पार्टीबाट अलग रहेको स्पष्टीकरण पनि रास्वपाले दिएको छ ।

‘आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाजसेवामा लगाउनुभएकी उपसभामुखज्यू विभिन्न प्रतिष्ठित राष्ट्रियर अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत विभूषित हुनुहुन्छ’, विज्ञप्ति भनिएको छ, ‘उहाँको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उहाँलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको हो । यद्यपि पदमा निर्वाचित भइसकेपछि इन्दिरा राना मगर पार्टीको सदस्य नरहनुभएको सर्वविदितै छ ।’

तर पनि राना निर्दोष रहेको जिकिर रास्वपाले गरेको छ । उसले अगाडि भनेको छ, ‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चारमाध्यमहरूमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरूजस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन ।’

बरु यो ‘मध्यरातमा ठडिएको (कांग्रेस–एमाले) गठबन्धनले रास्वपाको छवि धूमिल पार्न रचेको षड्यन्त्र भएको दाबी विज्ञप्तिमा गरिएको छ । यसविरुद्ध सचेत रहन पार्टीका सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई रास्वपाले आग्रह पनि गरेको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top