प्रधानमन्त्रीले असार २८ मा चौथो पटक विश्वासको मत लिने


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन् । शुक्रबार उनले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउने सहमति गरेपछि प्रचण्डको सरकार सङ्कटमा परेको थियो । दुई दिनअघि मुख्य सत्ता साझेदार एमालेले आफ्नो समर्थन फिर्ता लिएको थियो भने उक्त दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा बुझाएका थिए ।

सरकारमा सहभागी कुनै एक दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत जाँच्नुपर्ने संवैधानिक व्यवस्था छ। कांग्रेसले नयाँ बन्ने सत्ता गठबन्धनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने केन्द्रीय समितिबाट निर्णय गरिसकेको छ।

उनीहरूले सरकार स्पष्ट रूपमा अल्पमतमा रहेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न नयाँ समीकरणका दलहरूले आग्रह गरिरहँदा प्रचण्डले विश्वासको मत जाँच्न लागेका हुन्। सङ्घीयता कार्यान्वयनमा गएपछि भएको दोस्रो संसदीय निर्वाचन विसं २०७९ पछि पुस १० मा उनी प्रधानमन्त्री नियुक्त भएका थिए।

त्यस क्रममा उनले दुई पटक एमालेसँग र एकपटक कांग्रेससँग सत्ता समीकरण फेरे। १८ महिनादेखि सत्तामा रहेका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

चौथो पटक विश्वासको मत लिँदै प्रचण्ड

सङ्घीयता कार्यान्वयनमा गएपछि भएको दोस्रो संसदीय निर्वाचन विसं २०७९ पछि पुस १० मा उनी प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस क्रममा उनले दुई पटक एमालेसँग र एकपटक कांग्रेससँग सत्ता समीकरण फेरे। १८ महिनादेखि सत्तामा रहेका प्रचण्डले चौथो पटक विश्वासको मत लिन लागेका हुन्।

यस सरकारको नेतृत्व गरेपछि पहिलो पटक २०७९ सालको पुस २६ मा प्रचण्डले प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गरेका थिए। दोस्रो पटक गत वर्षको चैत ६ मा संसद्‌मा २६२ सांसद सहभागी मतदानमा १७२ जनाले उनलाई विश्वासको मत दिएका थिए।

तेस्रो पटक फागुन ३० मा विश्वासको मतका जाँच्दा २६८ सांसद सहभागी मतदानमा उनको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको थियो।

प्रतिनिधिसभामा कोसँग कति सीट छ ?

तल्लो सदन प्रतिनिधिसभामा २७५ सदस्य हुन्छन्। बहुमतका लागि १३८ सीट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस (८८) र दोस्रो ठूलो दल नेकपा एमाले (७९) मिल्दा नै सामान्य बहुमत काट्ने अर्थात् १६७ सीट पुग्ने अवस्था छ।

प्रचण्डको दल माओवादी केन्द्रसँग ३२ सीट छ। हाल सरकारमा रहेकामध्येको मुख्य दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सीट छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सँग १० सीट छ।

तल्लो सदनमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४, जनता समाजवादी पार्टीसँग ७, जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी, नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सीट छ।

त्यसबाहेक नेपाल मजदुर किसान पार्टी, राष्‍ट्रिय जनमोर्चा, आम जनता पार्टीसँग एक-एक र दुई स्वतन्त्र सांसद पनि छन्।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top