काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताएका छन् । काठमाडौंमा शनिबार पार्टीको काठमाडौं-६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने बताए ।
उनले भने, ‘देश सम्हाल्ने काम प्रधानमन्त्रीको हो तर प्रधानमन्त्रीको हालत कस्तो छ ? चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो छ । कांग्रेसले हेप्यो, कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन, एउटा मन्त्रीले टेर्दैन । प्रधानमन्त्रीले बोल्दै गर्दा संसदमा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ भनेर थर्काउँछ । यस्तो प्रधानमन्त्री, यस्तो लुते प्रधानमन्त्री भएको बेलामा सम्हाल्छ त, कसरी सम्हाल्ने । मैले आरोप लागएको होइन, आफं हेर्नु हालत, मन्त्री र मुख्यमन्त्री कसैले टेर्दैनन् ।’
उनले ‘बा’ले आफैलाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने मन्त्रीहरु सरकारमा पठाएको भन्दै यो सरकार यसरी चल्न नसक्ने बताए । यस्तो अवस्थामा प्रधानमन्त्रीले संसदमा उभिएर म गर्छु, सम्हाल्छु भन्नुपर्ने ठाउँमा आफै गनगन गर्दै हिँडेको भन्दै उनले कटाक्ष गरे ।
उनले भने, ‘यता बाले सबै कस्तो मन्त्री पठाउनुभएको छ । बालाई मात्रै टेर्ने, मन्त्रीहरु प्रधानमन्त्रीलाई गन्दै नगन्ने, भौतिकमन्त्रीले ग्याङ लिएर गयो अर्थ मन्त्रालय, राति गएर २५ अर्ब बजेट चैट, सबै लगेर आफ्नो क्षेत्रमा लगेर हाल्यो । मैले कहिले पनि देखेको थिइँन यस्तो, कहिले सुनेको पनि थिइँन । नेकपा एमालेले यो सरकारको जिम्मा लिँदैन । त्यसकारणले गर्दा उसले बजेटको पनि विरोध गर्छ । यो सबै पछि जिम्मा नलिनको लागि गरेको हो । यो सरकार संयुक्त सरकार हो यसको जिम्मा कसले लिन्छ ? यो बेलामा प्रधानमन्त्रीले संसदमा उभिएर म गर्छु, सम्हाल्छु भन्नु पर्ने ठाउँमा, गनगन गरेको छ, रोएको छ ।’
यस्तै, उनले अर्थतन्त्र सबैतिर अस्तव्यस्त भएको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था देशमा रहेको पनि बताए ।






