प्रधानमन्त्री दाहाल भारत प्रस्थान, मोदीसँग संक्षिप्त कुराकानी हुने


काठमाडौं । प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । आइतबार दिउँसो सानो टोली लिएर दाहाल दिल्ली उडेका हुन् । भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री नयाँदिल्लीका लागि उडेका हुन् । आइतबार अपरान्ह ७ः१५ मा आयोजना हुने शपथ ग्रहणमा दाहाल सहभागी हुनेछन् ।

शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री दाहालले उनीसँग संक्षिप्त कुराकानी गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि दुई प्रधानमन्त्रीबिच भएको टेलीफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री दाहालका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना दिल्ली उडेका हुन ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top