काठमाडौं । सभामुख देवराज घिमिरे आजबाट ६८ वर्ष लागे । उनको जन्मदिन हो आज । अंग्रेजी पात्रो अनुसार २६ मे १९५६ मा ताप्लेजुंगमा उनी जन्मिएका थिए अर्थात् बिक्रम सम्वत् १३ जेठ २०१३ ।
जन्मदिनको पहिलो दिन कसरी मनाउँछन् सभामुख घिमिरे ! उनी कुनै औपचारिक कार्यक्रम गर्दैनन्, त्यस्तो चलन नै बसेन । राजनीतिक प्राणी भएकाले नियमित भेटघाटमै बित्छ उनका यस्ता अवसरहरु पनि । अहिले प्रतिनिधि सभाको नेतृत्वमा रहेकाले उनको राजनीतिक सम्वाद विगतभन्दा अझ बढी नै हुने गर्छ । अझ अहिलेको पेचिलो अवस्थामा त संसदको गतिलाई सहज बनाउनु नै चुनौतिपूर्ण दायित्व बनेको छ । शीर्ष नेतृत्वसँग परामर्श गरेर यसलाई निकास दिन सभामुख घिमिरे कसरत गरिरहेका देखिन्छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित प्रतिनिधि एमालेका सुपरिचित नेता हुन् । उनी तत्कालिन गठबन्धनको साझा उम्मेदवार भएकाले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपाने उनकी प्रतिद्वन्दी थिईन् । सत्तारूढ गठबन्धनका उम्मेदवार घिमिरे बहुमतबाट सभामुख चुनिएका थिए । प्रतिनिधि सभामा उपस्थित २६८ सांसदमध्ये १६७ ले घिमिरेलाई समर्थन गरेका थिए । न्यौपानेले १०० सांसदको मत पाएकी थिईन् ।
रोचक पक्ष त के थियो भने १ मत कसैले पनि पाएनन्, तटस्थ थियो त्यो मत ! सदा झैं नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल थिए ती तटस्थ मतदाता । केहीदिन अघिको सदनमा पनि उनै प्रेम सुवालले हात उठाएर जनाएको असमति सभामुखको नजरमा परेको थिएन । सदनमा यो एक अनौठो घटना बनेर रह्यो ।
त्यतिबेला ज्येष्ठ सदस्यका हैसियतले प्रतिनिधिसभाको अध्यक्षता गरिरहेका पशुपति शम्शेर जबराले घिमिरे बहुमत पाएर सभामुख निर्वाचित भएको घोषणा गरेका थिए ।पूर्व सभामुख सुवास नेम्वाङले घिमिरेलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए भने माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले समर्थन जनाएका थिए ।
नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको पनि विश्वासको मत पाएका थिए तर केही समयपछि उनी एमालेतिर सरेपछि विपक्षमा पुगेको कांग्रेसले सभामुख पदमा आफ्नै उम्मेदवार उठाएको थियो ।
शक्तिशाली सभामुख
संविधान र कानुनको अक्षरशः पालना गर्नु त छँदैछ, त्यसबाहेक सभामुखले नैतिकता र इमानदारीको पनि कठोरतापूर्वक पालना गर्नुपर्छ भन्ने मान्यता रहीआएको छ । जननिर्वाचित संस्था प्रतिनिधिसभाको नेता सभामुखको भूमिका केवल सदनमा मात्रै सीमित रहँदैन ।
संविधानअनुसार विभिन्न संवैधानिक आयोगहरूमा हुने नियुक्तिहरूमा सिफारिस गर्ने संवैधानिक परिषद्को सदस्य समेत रहन्छन् सभामुख । संविधानले राष्ट्रपति र उपराष्ट्रपति दुवैको पद रिक्त भएको अवस्थामा राष्ट्रपतिको काम गर्न सक्ने अधिकार पनि दिएको छ सभामुखलाई ।
प्रतिनिधिसभाका नियमित कार्यसूची बनाउने, संसद्मा दर्ता भएका प्रस्तावहरू अघि बढाउने वा नबढाउने लगायतका काम कारबाहीमा पनि सभामुखको निर्णायक जस्तै भूमिका रहन्छ । सभामुखले ६७ हजार ३२० रुपैयाँ मासिक पारिश्रमिक पाउँछन् भने प्रतिमहिना थप ३७ हजार फुटकर खर्च पनि सभामुखलाई संसद सचिवालयले उपलव्ध गराउँछ ।
आजका सभामुख
संसदको नेतृत्व गरेको झण्डै डेढ वर्षको अनुभव सँगालेका सभामुख घिमिरेले आज शुभेच्छुकका शुभकामनाहरु सन्देशहरु आर्जन गरिरहेका छन् । सँगसँगै तटस्थता निर्वाह गर्न असमर्थ भएको भनेर आलोचनाको सुइ उनीतिर तेस्र्याउनेको पनि कमी छैन आज ।
गृहमन्त्री सहकारीको बचत अवैध अपचनलमा मुछिएका विवाद संसदीय छानविन समिति बनाएर अनुसन्धान गरौं भनिरहेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सभामुखसँग उतिसारो प्रशन्न देखिँदैन । अप्रशन्न मात्र छैन कांग्रेस सभामुखसँग, उ त प्रमुख प्रतिपक्षलाई किनारा गरेर तटस्थ रहनुपर्ने भूमिका एकपक्षीय बनाएको भनेर आलोचना पनि गरिरहेको छ उनको ।
भनिन्छ, सामान्य मानिसहरु जन्मदिवसका अवसरमा अनेक किसिमका वाचावन्धन गर्छन् र कसम खानेगर्छन् । विवेकी मानिस भने आफैंलाई नियाल्छ, वितेका दिनको समीक्षा गर्छ र आफ्ना दोषहरु पहिल्याएर तिनलाई नदोहोर्याउने वाचा गर्छ । अनि भविष्यमा गरिने कर्महरु त्रुटीरहित बनाउने भगिरथ प्रयत्न गरिरहन्छ अनि उ कर्मकै कारण माझिँदै जान्छ र परिस्कृत हुन्छ ।
लामो राजनीतिक उतारचढाव भोगेका, निरंकुश पञ्चायती शासनको सास्ती भोगेका र लोकतन्त्र स्थापना निमित्त कठीन मोडहरु पार गरेर जनताले चुनेको सार्वभौम संस्थाको नेतृत्वमा पुगेका नेता घिमिरेले पनि सभामुख भएपछि निर्वाह गरेका आफ्ना भूमिकाको गम्भीर समीक्षा गर्नेछन् । दलीय सम्बन्धभन्दा टाढा बसेर रेफ्रीको जस्तो भूमिका निर्वाह गर्ने अठोटलाई अझ बलियो पार्नेछन् । तटस्थ नरहेको भनी आलोचना गरिरहेको प्रमुख प्रतिपक्षलाई नाजवाफ बनाउन सफल हुनेछन् । आजको दिन सभामुख देवराज घिमिरेका लागि यही नै उपयुक्त शुभकामना हुने छ ।






