पार्टी विभाजनका विषयमा भण्डाफोर गर्न जसपा नेपालको परिपत्र


काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजनका विषयमा तल्ला तहसम्म भण्डाफोर गर्न परिपत्र गरेको छ । केन्द्रीय समितिको बैठकपछि बुधबार परिपत्र गर्दै सो पार्टीले पार्टीभित्र कुनै सैद्धान्तिक, वैचारिक मतभेद नरहेको अवस्थामा अकास्मात् सत्ता र शक्तिकालागि गरिएको विभाजन धोखापूर्ण र अनैतिक भन्दै त्यसको भण्डाफोर गर्ने अभियान सञ्चालन गर्न भनेको हो ।

पार्टीले विभाजन गर्नेहरुको भण्डाफोर गर्न परिपत्र गरेको प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

‘यो विभाजले पहिचान, संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशीजस्ता मुद्दालाई कमजोर बनाउने काम भएको छ । मधेसी, आदिवासी जनजाति, दलित, थारु, पिछडावर्ग, मुुस्लिम, अल्पसंख्यक, उत्पीडित जाति तथा राष्ट्रियताको मुक्तिको आन्दोलनलाई नै धरापमा पार्ने कार्य भएको समेत केन्द्रीय समिति बैठकको निष्कर्ष छ,’ बस्नेतले भने, ‘कहिल्यै पनि सैद्धान्तिक, वैचारिक तथा अन्य विषयहरुमा समेत मतभेद नरहेको अवस्थामा अकस्मात पार्टी विभाजन गर्ने काम धोकापूर्ण छ । यसको भत्र्सना गरौँ भनेर परिपत्र गरेका छौँ ।’

बैठकले पार्टीलाई एकताबद्ध राख्दै आगामी एकताको राष्ट्रिय महाधिवेशनलाई सफल पार्न समेत आव्हान गरेको उनले बताए ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top