तेस्रो लगानी सम्मेलन : एक सय ५१ परियोजना प्रस्तुत हुने


काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले ती परियोजना प्रस्तुत गर्ने भएको छ ।

कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक प्रगतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्य सहित सुरु भएको सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरिसकेका छन् ।

नेपाल लगानी बोर्डले सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएको जानकारी दिएको छ । लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन् भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने भएको छ ।

सोमबार सम्पन्न हुनेगरी आज उद्घाटन भएको सम्मेलनको पहिलो दिन दुईवटा मुख्य सत्र हुनेछन् ।  भोलि सोमबार ११ वटा समानान्तर सत्र सञ्चालन गरिने भएको छ । सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग साक्षात्कार गर्ने  छन् भने निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलनमा सहभागी गराएको छ ।

उद्घाटन सत्रमा लगानी सम्मेलन निर्देशक समिति संयोजक तथा अर्थमन्त्री वर्षमान पुन, पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, भारतको वाणिज्य एवं उद्योगमन्त्री पीयूष गोयल, संयुक्त अधिराज्यको  एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियन तथा अफ्रिका विकास मामिला राज्यमन्त्री एन्ड्रु मिचेलल, संयुक्त राष्ट्रसङ्घीय व्यापार तथा विकास (अङ्कट्याड)का महासचिव रेबेका ग्रेन्सपान र चिनियाँ अन्तरराष्ट्रिय विकास सहयोग नियोग अध्यक्ष लु चाउहुईले सम्बोधन गर्नेछन् ।

सम्मेलनमा एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष यिङमिङ याङ, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)का कार्यवाहक उपाध्यक्ष रजत मिश्र, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, आइटीसी लिमिटेड इन्डियाका कार्यकारी निर्देशक तथा प्रमुख वित्त अधिकृत सुप्रतिम दत्ता र अमेरिकी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अतुल केशपले पनि बोल्ने कार्यतालिका छ ।

नीजि क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, भारतीय कम्पनी सतलज जलविद्युत् निगमका अध्यक्ष सुशील शर्मा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा लगानीका अवसर, त्यसबाट प्राप्त हुने प्रतिफललगायत लगानीका तुलनात्मक क्षेत्रबारे चर्चा गर्नेभएका छन् ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top