बार्सिलोनालाई हराउँदै पीएसजी सेमिफाइनलमा


काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)ले युुइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ । स्पेनिस क्लब बार्सिलोनामाथि ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दा समग्रमा पीएसजी ६-४ गोल अन्तरले विजयी हुँदै अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा ३-२ ले विजयी भएको बार्सिलोना दोस्रो लेगमा ४-१ ले पराजित भएपछि क्वाटरफाइनलबाटै विदा भएको हो ।

बार्सिलोनाको मैदानमा घरेलु टोलीले राफिनाको गोलमा अग्रता लिएको थियो । लामिन यमालको पासमा राफिनाले गोल गरेपछि बार्सिलोना सहज अवस्थामा देखिएको थियो । तर, २९ औं मिनेटमा रोनाल्ड आराउहो रातो कार्ड पाउँदै मैदान छाडेपछि त्यसको असर बार्सिलोनाले खेलअवधिभर नै भोगेको थियो ।

१० खेलाडीमा सीमित भएको बार्सिलोनामाथि क्रमश हाबी हुँदै पीएसजीले ४० औं मिनेटमा बराबरी गोल गरेको थियो । ओस्मन डेम्बेलेले ब्राड्ले बारकोलाको पासमा गोल गर्दै पीएसजीलाई पहिलो हाफमै खेलमा फर्काए ।

५४ औं मिनेटमा असरफ हकिमीको पासमा भिटिन्हाले गोल गरेपछि पीएसजीले २-१ को अग्रता लिँदा पहिलो लेगको नतिजाका कारण समग्रमा ४-४ को अवस्थ पुगेको थियो । त्यसपछि केलियन एम्बाप्पेले ६१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल ३-१ ले अघि बढाएका थिए ।

उनै एम्बाप्पेले ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले दोस्रो लेगमा ४-१ को शानदार जित दर्ता गरेको हो । अब सेमिफाइनलमा पीएसजीले बोरुसिया डर्टमन्डसँग खेल्ने छ । बोरुसिया डर्टमन्डले एट्लेटिको मड्रिडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top