रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम-२ र बझाङ-१ (१) मा उपनिर्वाचनको मिति तोकेको छ ।

नयाँ सत्ता समिकरणमा गृहमन्त्रीसहित चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाभित्र वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि एमालेबाट उठाउने उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएकाले उक्त पद रिक्त छ । यस्तै, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचन गर्न लागेको हो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top