‘लिम्बुवान किरात’ प्रदेश नामकरणको प्रस्ताव


विराटनगर । किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ । इलाम सदरमुकाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो ।

सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिहासिक थातथलो, इतिहासका अनेकौं सांस्कृतिक महत्वका विषय विकासका नाममा नष्ट गरिँदै गएकामा समीक्षा गरिएको बताए । ‘हाम्रा मुख्य इतिहास भएका ठाउँमा भौतिक संरचना निर्माण गर्ने, आदिबासीको ऐतिहासिक सांस्कृतिक इतिहास मेटाउने काम भइरहेको छ,’ उनले भने, ‘सबै ठाउँको हकमा होइन, आदिवासीका ऐतिहासिक ठाउँमा चाहिँ विभिन्न नाममा अतिक्रमण गर्न पाइँदैन भन्ने हाम्रो माग हो ।’

यस्तै, केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले चुम्लुङले सामाजिक सद्भाव बचाएर आफ्नो अधिकार माग गरेको बताए । उनले भने, ‘हामी सबै जाति, भाषा, धर्मको सामाजिक सद्भाव अझ बलियो बनाउने गरी अघि बढेका छौं ।’ चुम्लुङ घोषणापत्रमा लिम्बू र मैथिली भाषालाई यो प्रदेशको सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगले सिफारिस गरेपनि अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख छ ।

ताप्लेजुङको मुकुमलुङ (पाथीभरा) मा ऐतिहासिक संस्कृति नष्ट गर्दै केबलकार निर्माण गरिने भनिएकामा त्यसलाई खारेज गर्न ध्यानाकर्षण गराउनेदेखि धरान बुढासुब्बाको प्रवेशद्वारमा गणेशको मन्दिर निर्माण रोक्न सचेत गराइएको छ ।

चुम्लुङमा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटालगायत चुम्लुङमा आबद्ध प्रदेशका १५ जिल्लाका प्रतिनिधिको सहभागिता थियो ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top