नेपाली सेनाको २६१ औं वार्षिकोत्सवमा विशेष कार्यक्रम


काठमाडौं । नेपाली सेनाले सेना दिवस विशेष कार्यक्रमसहित मनाउने भएको छ । यसका लागि सेनाले विभिन्न कार्यक्रम गरिरहेको छ । आगामी शुक्रबार हुने दिवसको विशेष कार्यक्रमअघि बुधबार नेपाली सेना स्थापनाको २६१ औं वार्षिकोत्सवको कार्यक्रम गरिएको छ ।

कार्यक्रममा प्रधान सेनापति ब्यानर प्रतियोगिता–२०८० मा गणतर्फ प्रथम हुने श्रीजंग गण र गुल्मतर्फ प्रथम हुने श्री हनुमानध्वज गुल्म पुरस्कृत भएका छन् । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले

उक्त युनिटहरुका साथै युद्धकार्य तथा पेसागत प्रतियोगितामा प्रथम श्री नं.३ वाहिनी र दोस्रो श्री नं.९ वाहिनी तथा पृतना स्तरको प्रतियोगितामा प्रथम श्री मध्यपूर्वी पृतना र दोस्रो हुने श्री उपत्यका पृतनालाई पनि पुरस्कृत गरेका छन् । उक्त अवसरमा प्रकृति संरक्षण ट्रफी प्रतियोगितामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री खड्गदल गण र खप्तड राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री सिंहशार्दुल गुल्म पनि पुरस्कृत भएका छन् ।

प्रधान सेनापति शर्माले सैनिक ड्रिल प्रतियोगिता २०८० मा प्रथम श्री मध्यपूर्वी पृतना र दोस्रो हुने श्री उपत्यका पृतनालाई पुरस्कार वितरण गर्नुका साथै दिवसका उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निसान प्राप्त गर्ने रथीहरु, अधिकृत, पदिक तथा अन्य दर्जाका साथै, सैनिक श्रीमती संघका पदाधिकारीहरू लगायत गैरसैनिक व्यक्तित्वहरूलाई प्रधान सेनापति प्रशंसा निसान हस्तान्तरण गरेका छन् ।

मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजित बुधबारको  समारोहमा ३०० जना महिला र ३०० जना पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिलाई वल्र्ड बुक अफ रेकर्ड्स लन्डनले विश्व कीर्तिमानको मान्यता प्रदान गरेको छ । सोही अवसरमा त्यसको अस्थायी प्रमाणपत्र वल्र्ड बुक अफ रेकर्ड्सका प्रतिनिधिले प्रधान सेनापतिलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रथी बालानन्द शर्मा (अ.प्रा.) लाई सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान, गुल्म प्रबन्धक हुद्दा ज्ञानेन्द्र शाह (अ.प्रा.) लाई उत्कृष्ट कृषक सम्मान, प्राविधिक सुवेदार विष्णु गिरी (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट उद्यमी सम्मान, प्राविधिक सुवेदार राजु सिग्देल (अ.प्रा.) र जमदार श्रीपाल सारु (अ.प्रा.) लाई प्रधान सेनापति उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार सम्मान, श्रीमती लिलीहजुर बस्न्यातलाई प्रधान सेनापति उत्कृष्ट समाज सेवा सम्मान, हुद्दा गयालाल देवकोटा (अ.प्रा.) तथा श्रीमती उर्मिला बुढाथोकी क्षेत्रीलाई प्रधान सेनापति सफल लघुवित्त उद्यमी पुरस्कार वितरण गरिएको थियो ।

नेपाली सेनाले यस वर्षको सेना दिवस २०८० शिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं सांगीतिक प्रस्तुतिका साथ मनाउदै छ । उक्त कार्यक्रममा नेपाली सेनाका साथै बेलायत, भारत र अमेरिकाका सेनाहरुको समेत सांगीतिक प्रस्तुति हुने जनाइएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top