सरकारमा एमालेका ८ मन्त्रीहरु, प्रधानमन्त्रीपछिको बलियो रघुवीर महासेठ


काठमाडौं । नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

त्यस्तै  नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपछिको वरियता नेकपा एमालेका रघुवीर महासेठले पाउने भएका छन् । त्यसपछि नारायणकाजी श्रेष्ठ र रवि लामिछाने रहनेछन् । उपेन्द्र यादव सरकारमा आएपछि उनको वरियता रविभन्दा माथि रहनेछ ।

गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमाले भएकाले प्रधानमन्त्रीपछिको वरियतामा महासेठ रहने सहमति भएको हो । महासेठ भौतिक पूर्वाधार मन्त्रालय र उपप्रधानमन्त्रीसहित सरकारमा एमालेको नेतृत्व गरेर जाँदैछन् । नारायणकाजी श्रेष्ठ त्यसपछिको वरियतामा रहने गरी उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बन्न सहमत भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

स्रोतले भन्यो–एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय बाँडफाँटमा खासै कुनै अडान लिनुभएन । तर सरकारमा वरियतामा महासेठ प्रधानमन्त्रीपछिको दोस्रो हुनुपर्छ भन्ने उहाँको अडान थियो । प्रधानमन्त्रीले नारायणकाजीलाई यो कुरा सुनाउँदा उहाँले हुन्छ मलाई केही फरक पर्दैन भनेपछि सोही अनुसार राष्ट्रपति कार्यालयमा मन्त्रीहरूको सूची पठाइएको छ ।

महासेठ यसअघि ओली प्रधानमन्त्री भएका बेला करिब २ साता उपप्रधानमन्त्री बनेका थिए । यसअघि पनि श्रेष्ठभन्दा माथिल्लो वरियतामा कांग्रेसका पूर्णबहादुर खड्का थिए भने त्यसभन्दा पहिले पनि विष्णु पौडेल उनीमाथि माथिल्लो वरियतामा रहेकाले दलीय हैसियतलाई सहजरुपमा लिएर स्वीकार गरेको श्रेष्ठनिकट नेताहरू बताउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top