काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत बुधबार नगर प्रहरीको लठ्ठी खाने कुनै फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता रहेको दाबी गरेका छन् । मयेर शाहले नगर प्रहरीले फुटपाथ व्यवसायीमाथि आक्रमण नगरेर आफ्नो आत्मरक्षा गरेको बताएका छन्। सुरुमा नगर प्रहरीमाथि रडले आक्रमण भएपछि प्रतिरक्षाका लागि बाध्य भएर उनीहरूले बल प्रयोग गरेको मेयर शाहको तर्क छ ।
नगर प्रमुख शाहले अंग्रेजी भाषामा समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ । सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत उनले लगाएका छन् ।

उनको उक्त पोष्टलाई समर्थन जनाउँदै रुटिन अफ नेपाल बन्दका संचालक भिक्टर पौडेललेसमेत आफ्नो पेजको प्रतिरक्षा गरेका छन् । पौडेलले आफूहरुले उक्त घटनाबारे पोष्ट नगरेकोमा आलोचना खेप्नुपरेका तर्क दिएका छन् ।
फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ । झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ ।






