हिन्दु राष्ट्र र राजसंस्था फरक कुरा हो : शंकर भण्डारी


काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरूले आज (शनिबार) सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गर्दैछन् । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा ‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियान घोषणा गर्न लागेका हुन् ।

अभियानका संयोजक शंकर भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरु सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।  कांग्रेस केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आफूहरुले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा भएपनि केहीले यसलाई निस्तेज पार्न राजसंस्था जोड्ने कुकृत्य भईरहेको बताए ।

उनले भने, ‘हामी प्रष्ट छौं । हामीले गणतान्त्रिक, वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्रको खोजेका हौं । यसमा हामी स्पष्ट र दृढ छौं । तर हामीलाई चिन्ता कहाँ छ भने यो अभियान नियोजित रुपमै निस्तेज पार्नका निम्ती राजसंस्थासँग जोड्ने प्रयास हुनेछ । राजसंस्था फरक विषय हो । धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरु त्यसभित्र रहने कुराहरु हुन् । त्यसैले हामी स्पष्ट छौं सनातन वैद्धिक धर्म सापेक्ष हिन्दु राष्ट हो ।’

नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भएपनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिनुमा भण्डारीको आपत्ति छ । महाअभियानको त्यस विषयका गम्भीर छलफल गर्ने बताउँदै संविधानमै धर्मनिरपेक्ष राष्ट्र नभइ हिन्दु राष्ट्रको पक्षमा रहेको बताए ।

उनले भने, ‘म आफैं संविधान सभा सदस्य हुँ । म यो कुरा बुझेर मस्यौदा समितिमा बसेको हुँ । म लगायत धेरै जना कांग्रेसका सदस्यहरुले धर्म निरपेक्षताका विपक्षमा आवाज उठाएका हौं । तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले पछि संविधान शंसोधन गरेर भएपनि यो राखौंला । अहिले यो प्रस्ताव फिर्ता लिदिनुस् भनेकाले मंैले मानेको हुँ ।’

गौतम वुद्ध जस्ता महान व्यक्तित्व जन्मेको हिमालय मुलुक हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधिनता र स्वाभिमानसँगसँगै लाने नेपाली कांग्रेस र सरकारले गम्भीर छलफल गर्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ । कांग्रेस केन्द्रीय समिति बैठकमा समेत शुक्रबार केन्द्रीय सदस्य भण्डारीको नेतृत्वमा २२ नेताले धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुधर्मको पक्षमा उभिनुपर्ने दाबीसहित विशेष पूरक प्रस्ताव पेश गरेको उनले उल्लेख गरे ।

हिन्दु राष्ट्रको पक्षमा धेरै सदस्य भएको तर बोल्न डराएको भन्दै आगामी दिनमा अभियानमा जोडिनेहरू बढ्दै जाने भण्डारीको दाबी छ । नेपालमा विभेद र विकृति मौलाएको भन्दै उनले जनतामा रहेको भ्रम चिर्न सनातन धर्ममा विभेद नरहेको कुरा जनतासामु राख्नुपर्ने बताए ।

उनले भने,‘सरकारका कुनैपनि देश धर्मको महत्व बुझे हुन्छ । धर्मका नाममा फैलाइएका भ्रम र विकृतीहरुलाई चिर्दै जनतासामू जानुपर्छ । धर्ममा नियत छैन, सनातनमा विभेद हँुदैन् भन्ने कुरालाई प्रष्ट पार्दै सनातन धर्मको महत्व बुझाउनुपर्ने देखिन्छ । र यो देशको विकाससँग सम्बन्धित भन्ने बुझाउन सक्नुपर्छ ।’


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top