काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो ।
नेपालका कप्तान देव खनालले ५३ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाए ।
त्यसपछि मैदान आएका उत्तम थापा मगर ३० बलमा १ चौकासहित ८ रनमा क्याच आउट भए । त्यो समय नेपाल २१.५ ओभरमा ६५–२ को अवस्थामा थियो । एक समय नेपाल २३ ओभरमा ७१–२ को अवस्थामा थियो । स्पिनर सौम्य पाण्डेको लेन्थको बल मिस गर्दा अर्जुन कुमाल बोल्ड आउट भए । अर्जुन आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो ।
विशाल विक्रम केसी र गुलशन झा १–१ तथा दीपक डुम्रे र दीपेश कँडेल खाता खोल्न नसक्दा नेपाल २७.५ ओभरमा ७७–७ को दयनीय अवस्थामा पुगेको थियो । भारतका स्पिनर सौम्य पाण्डेले १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिए । आर्शिन कुलकर्णीले २ विकेट लिए । त्यसअघि दक्षिण अफ्रिकाको माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।
भारतको जितमा सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउट भएका थिए ।
एक समय १४ ओभरमा ६२–३ को अवस्थामा पुगेको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । ओपनर आदर्श सिंह २१, आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रनमा आउट भएका थिए ।
नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिएका थिए । नेपाल समूह डीबाट तेस्रो स्थानमा रहँदै सुपर सिक्स खेलेको थियो । नेपाल समूह चरणमा पाकिस्तानसँग ५ विकेट र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको थियो ।
सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो । अव नेपालको समूहबाट सेमिफाइनलमा पाकिस्तान र बंगलादेश मध्य एक टोली पुग्नेछन् । यी दुई टोलीबीच भोलि खेल हुनेछ । पाकिस्तान विजयी भएमा सोझै सेमिफाइनल खेल्नेछ ।
तर बंगलादेश विजयी भएमा दुबै टोलीको ६–६ अंक हुने हुँदा नेटरनरेटमा भर पर्नेछ । अर्को सुपर सिक्सबाट अष्ट्रेलिया शीर्ष र दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।






