काठमाडौं । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । लगातार दोस्रो जितसँगै समूह डी बाट पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाल र अफगानिस्तानबीच हुने खेलको विजेता टोली तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुग्नेछ । १९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पाकिस्तानको जितमा आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे । उनले दीपक डुम्रेलाई चौका हान्दै खेल अन्त्य गरेका थिए ।
पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै संयमित सुरुवात दिलाएका थिए । तर तीव्र गतिका बलर आकाश चन्दले २२ औं ओभरमा दुबै ओपनरलाई आउट गरेपछि नेपालले खेलमा फर्किन सक्ने झिनो सम्भावना देखाएको थियो ।
हुसेन ५९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । खान ७० बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । आकाशले सट बलमा दुबै ओपनरलाई आउट गरेका थिए । आकाशले अरफत मिन्हासलाई ८ रनमा सट बलमा दीपक डुम्रेबाट क्याच आउट गराउँदै पाकिस्तानी टिमलाई केही दबाबमा राख्न खोजेका थिए ।

कप्तान साद बेग आकाश त्रिपाठीको बलमा दीपक बोहराबाट क्याच आउट भएका थिए । एक समय पाकिस्तान ८०–० बाट १०४–४ को अवस्थामा पुगेको थियो । पाँचौं विकेटका लागि आजन आविस र अहमद हसनले ८५ बलमा ६४ रनको साझेदारी गरेपछि नेपालले २००२ पछि पाकिस्तानलाई हराउने सपना अधुरै बनेको थियो ।
हसन ३७ बलमा ४ चौकासहित २९ रनमा स्टम्पिङ आउट भए । दीपेश कँडेललाई अघि बढेर सट खेल्ने क्रममा विकेटकिपर विपिन रावलको हातमा लागेर बल स्टम्प लाग्न पुगेको थियो । हरुन अर्शद १८ बलमा २ चौकासहित १५ रनमा नट आउट रहे । नेपालका आकाश चन्दले ९ ओभरमा ३४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । आकाश त्रिपाठी र दीपेश कँडेलले १–१ विकेट लिए । गुल्सन झाले १० ओभरमा २९ रन खर्चिँदा विकेट भने लिन सकेनन् ।
पाकिस्तानका स्पिनर अरफत मिन्हासले १० ओभरमा ३ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए । उनले पाकिस्तानको सिनियर टोलीबाट समेत खेलेका छन् । अहमद हसन र उबेद साहले २–२ विकेट लिए । नेपाल पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न शुक्रबार अफगानिस्तानलाई हराउनुपर्ने हुन्छ । अन्यथा नेपाल समूह चरणबाट बाहिरिनेछ ।






