लखन थापाप्रति सरकार सकारात्मक : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् । मगर समुदायले माघे संक्रान्ति पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार आयोजना गरेको समारोहमा उनले थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने भन्दै त्यसका लागि पहल गर्ने बताए ।

‘शासकवर्गको कठोर निरंकुशताविरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु,’ उनले भने, ‘यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरूको सम्मान हुनेछ । यसका लागि नेपाल सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

आफू नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय बिदा दिने निर्णय गरेको स्मरण गर्दै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहेको बताए । फरक प्रसंगमा बोल्दै उनले सरकारकै अथक प्रयासमा अर्थतन्त्रमा सुधार आएको बताए । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार र त्यसले मगर समुदायले उठाएका मागहरु सम्बोधन हुने उनको भनाइ छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top