काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले महामन्त्री डा. मुकुल ढकालसँग आफ्नो नाम जोडिएकोमा आपत्ति जनाएकी छिन् । उनले आधारहिन अफवाह फैलाएर आफूलाई बदनाम गर्न खोजिएको भन्दै खेद प्रकट गरेकी हुन् ।
महामन्त्री ढाकालसँग सहकर्मी बाहेक आफ्नो कुनै व्यक्तिगत नजदिकी नरहेको डाँगीले स्पष्ट पारेकी छिन् । लोकतन्त्र टाइम्ससँग बोल्दै सासंद डाँगीले ढकालमाथि कारबाही गर्ने पार्टीको निर्णयमा समेत आफ्नो हस्ताक्षर रहेको प्रस्टोक्ति दिदै कसैलाई भ्रममा नपर्न आग्रह गरेकी छिन् ।
उनले भनिन् ‘म महामन्त्री ढकालको गतिविधिबाट पूर्णरुपमा असहमत छु । ढकालको शैली अमर्यादित मात्र थिएन अनुशासनहीन व्यवहार समेत थियो । म कुनै पनि कोणबाट ढकालको पक्ष छैन् । मैले पार्टी सभापतिलाई ढकालमाथि निर्मम कारबाही हुनुपर्छ भनेकी थिएँ । कम्तीमा पनि १ महिना त निलम्बनमा राख्नै पर्छ । साथै मैले पार्टीको निर्णयलाई सहमती जनाउँदै हस्ताक्षर समेत गरकी थिएँ । डा. ढकालप्रति मेरो कुनै सहानुभूति छैन् ।’
उनले ढकालको देखाएका कार्यशैली आपत्तिजनक र अमर्यादित रहेको र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै एक हफ्ताको निलम्बनले मात्र नपुग्नेसमेत बताएकी छिन् । कम्तीमा पनि ढकाललाई १ महिनासम्म निलम्बन गरिनुपर्छ भन्ने धारणा डाँगीको छ ।
उनले संचारमाध्यममा ‘रास्वपा बैठकमा ५२ जनामध्ये निशा डाँगीमात्र मुकुलमाथि कारबाहीको विपक्षमा’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षणसमेत जनाएकी छिन् । सांसद डाँगीले आफू ढकालको गतिविधिबाट असहमत रहेको बताएकी हुन् ।






