काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएका छन् । शनिबार राति वेस्टइन्डिजमा भारतलाई १७ वर्ष पछि टी-२० विश्वकपको उपाधि दिलाएका कप्तान रोहितले सन्यासको घोषणा गरेका हुन् । पोस्ट म्याच्मा बोल्दै विराट कोहलीले ग्राउण्डबाटै टी-२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका थिए ।
भारतीय कप्तान रोहित शर्माले खेलपछिको प्रस्तुति कार्यक्रममा आफ्नो सन्यासको बारेमा केही भनेनन् । तर खेलपछि पत्रकार सम्मेलनमा रोहितले सन्यासको घोषणा गरे ।
विराट कोहलीले जस्तै उनले पनि यो टीम इण्डियाका लागि उनको अन्तिम टी-२० अन्तर्राष्ट्रिय खेल भएको बताए । अर्थात् अब उनले टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिनेछन् । तर, यी दुबै खेलाडीले एकदिवसीय र टेस्टबारे भने त्यस्तो कुनै घोषणा गरेका छैनन् ।
पत्रकार सम्मेलनमा रोहित शर्माले विराट कोहलीको टी-२० अन्तर्राष्ट्रियबाट सन्यास लिएको प्रश्नमा भने, ‘यो मेरो पनि अन्तिम टी-२० अन्तर्राष्ट्रिय पनि थियो । यो ढाँचालाई अलविदा भन्नको लागि यो राम्रो समय हो । यो मैले चाहेको थिए, मलाई कप चाहिएको थियो र मैले यो पाएँ । यसबाहेक रोहितले यो ट्रफी राहुल द्रविडलाई समर्पण गरेको बताए ।
रोहित शर्मा हालसम्मका सबै टी २० विश्वकप खेल्ने एकमात्र भारतीय खेलाडी हुन् । उनी २००७ को टी-२० विश्वकपको टोलीमा थिए । त्यसपछि अब २०२४ मा उनको कप्तानीमा टोलीले यो प्रतियोगिता जितेको हो ।
रोहित शर्माले आफ्नो करियरमा कुल १५९ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् र ४२३१ रन बनाएका छन् । यो फर्म्याटमा उनको नाममा सर्वाधिक ५ शतकको कीर्तिमान पनि छ । रोहितले टी-२० अन्तर्राष्ट्रियमा कुल ३२ अर्धशतक पनि बनाएका छन् । उनले यही ऐतिहासिक कीर्तिमानसँगै आफ्नो यात्रा अन्त्य गर्ने निर्णय गरेका छन् ।
भारतीय टोलीका पूर्व कप्तान विराटले टी-२० अन्तराष्ट्रियमा कुल १२५ खेल खेले । जसमा ४८.६९ को औसतमा ४१८८ रन बनाए । उनले १ शतक र ३८ अर्धशतक पनि बनाएका छन् । अविजित १२२ रनको स्कोर उनको सर्वाधिक थियो भने उनले शनिबार राति भएको दक्षिण अफ्रिकाविरुद्धको विश्वकप फाइनलमा ७६ रनको पारी खेले।






