बंगलादेशमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा 


काठमाडौं । आईसीसी टी २० विश्वकप क्रिकेटमा अफगानिस्तानले सेमिफाइनलको स्थान पक्का गरेको छ । ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

मंगलबार भएको खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। सन् २०१० को दोस्रो संस्करणको टी-२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तान नवौं संस्करणमा आएर सेमिफाइनल प्रवेश गर्न सफल भएको हो ।

बंगलादेशका लागि ओपनर लिन्टनकुमार दासले बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४  रनको अर्धशतकीय पारि खेले। यस्तै, तौहिद हृदोयले १४ र सौम्य सरकारले १० रन बनाउनु बाहेक अन्यले राम्रो गर्न सकेनन् ।

अफगानिस्तानका लागि कप्तान राशिद खान र नभिन उल हकले समान चार –चार तथा फैजलहक फारुकी तथा गुलबदीन नईबले एक-एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलको सामना गरेर सर्वाधिक ४३ बनाए । यस्तै, इब्राहिम जाद्रानले २९ बलमा १८ रन, कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए।

बंगलादेशका लागि रिषद होसेनले तीन, तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक-एक विकेट लिए । यो सँगै अफगानिस्तान सेमिफाइनल प्रवेश गर्ने चौथो टोली बनेको छ भने सेमिफाइनल समिकरण समेत पूरा भएको छ । अफगानिस्तानको सेमिफाइनल प्रवेशसँगै अस्ट्रेलिया भने सुपर आठ बाटै बाहिरिएको छ ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top