टि-२० क्रिकेट : नेपालको सामना बंगलादेशसँग


काठमाडौं । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टि-२० विश्वकप सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान आईसीसीको पूर्णकालिन राष्ट्र बंगलादेशको सामना गर्दैछ ।

दक्षीण अफ्रिकासँग एक रनको पीडादायी हार व्यहोरेर एक खेल अगावै जारी विश्वकपको पहिलो चरणबाटै बाहिरिइसकेको नेपाल टेष्ट राष्ट्र हराएर इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ भने बंगलादेश दोस्रो चरणमा प्रवेश गर्न जित्नैपर्ने दबाबका बीच मैदान प्रवेश गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल बिहान ५ः१५ बजे सुरु हुनेछ । उक्त खेल किङ्सटाउनस्थित आर्नोस भेल स्टेडियममा खेलिने छ । १८ हजार दर्शक क्षमताको यो स्टेडियम क्यारेबियन क्षेत्रको निकै पुरानो स्टेडियम हो ।

तर, नेपाली खेलाडीहरूले दक्षिण अफ्रिकासँग भोगेको एक रनको पराजयको पीडा आलै छ । यही हारको पीडाले होला उनीहरु आइतबारको नियमित अभ्यासमा सहभागी नभएको जानकारी प्राप्त भएको छ । मंगलबार बिहान बंगलादेशविरुद्ध जित निकाल्दै इतिहास रच्ने एक अर्को अवसरको सदुपयोग गर्न समेत उनीहरुलाई त्यो पीडामा रुमल्लिइरहने समय भने छैन ।

शनिबार बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगको खल वर्षाका कारण रद्द भएको थियो ।

घर फर्किनुअघि टी-२० विश्वकपको सुखद अन्त्य  गर्न चाहेको र यो प्रतिष्ठाको खेल हुने कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले खेल सुरु हुनुअघि गरिएको पत्रकार सम्मेलनमा धारणा राखेका थिए ।

आईसीसी टी-२० विश्वकपमा नेपालको यो दोस्रो सहभागिता हो । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो । बंगलादेशमा सम्पन्न त्यो विश्वकपमा नेपाल प्रारम्भिक चरणबाटै बाहिरिएको थियो । बंगलादेशसँग १० वर्षअघिको हारको बद्ला लिने अवसरका नेपाली क्रिकेट समर्थकहरुले लिइरहेका छन् ।

नेपालको सम्भावित प्लेइङ ११

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अविनाश बोहरा ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top