दरबार हत्याकाण्ड भएको २३ वर्ष, घटना अझै रहस्यमै


काठमाडौँ | नारायणहिटी दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते बेलुका राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो। शुक्रबार बेलुकाको पारिवारिक जमघटका क्रममा घटना घटेको थियो। घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतिको हत्या भएको थियो।

यस्तै राजाका भाइ धीरेन्द्र, राजकुमारीहरु जयन्ती, शान्ति, शारदा र कुमार खड्गविक्रम पनि मारिएका थिए। दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबारलाई संग्राहलयमा परिणत गरिएको छ। हत्याकाण्डपछि सर्वोच्च अदालतका न्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो।

समितिका सदस्य तत्कालिन सभामुख तारानाथ रानाभाटले युवराज दीपेन्द्रले परिवारका सदस्यलाई गोली प्रहार गरी अन्त्यमा आफैँलाई गोली हानी आत्महत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

आफूले मन पराएको युवतीसँग विवाह गर्न नपाएको झोकमा नशालु पदार्थ सेवन गरी राजपरिवारका सदस्यहरूलाई मारेको र आफूले पनि आत्महत्या गरेको’ व्यहोराको निष्कर्ष समितिले निकालेको थियो।  प्रतिवेदनलाई अधिकांश नेपालीले विश्वास गर्न सकेका छैनन्।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ। राजा वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। उनको निधनपछि राजगद्दीमा बसेका भाइ ज्ञानेन्द्र शाहले राजतन्त्र जोगाउन नसक्दा २०६२,६३ को जनआन्दोलनमार्फत पुनःस्थापित संसद्ले राजाका सम्पूर्ण अधिकार खोसेको थियो। २०६५ सालमा गणतन्त्र स्थापना भएसँगै मुलुकमा राजतन्त्रको अन्त्य भएको हो।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top