काठमाडौं । सरकारले कतारका अमिर अर्थात राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
अमिर थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको हो ।
भ्रमणको क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा पहिलो दिन राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् भने भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।
यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।
कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । थानी २४ अप्रिलमा काठमाडौंबाट कतार प्रस्थान गर्नेछन्।






