काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र निरन्तर संघर्ष गर्दै जनताको सहभागितामा उन्नत बनाउँदै लैजाने प्रक्रिया भएको बताएका छन् । काठमाडौंको शान्तिबाटिकामा मंगलबार आयोजित ‘लोकतन्त्रमा निषेधको राजनीति’ विषयक नागरिक बहसमा ऐक्यबद्धता जनाउँदै उनले मान्छे सत्तामा पुगेपछि भ्रष्टीकरण हुँदै जाने भएकाले नागरिकले सत्ताको विरुद्धमा निरन्तर संघर्ष गरिरहनुपर्ने बताए ।
उनले भने, ‘जब कुनै पनि मान्छे सत्तामा पुग्छ, अनि सत्ताले मान्छेलाई भ्रष्टीकरण बनाउँछ, अन्धो बनाउँछ । त्यसैले जनताले निरन्तर सत्ताको विरुद्धमा संघर्ष गरिराख्नुपर्छ । म पनि सिंहदरबारमा बसेपछि अन्धो नबनौं भन्नका लागि मैले त्यो गरेको थिएँ । म जीवनभर लडिरहन्छु ।’
लोकतन्त्रको जग नै जनता भएकाले राज्यका सत्ताधारी नेताहरुले नागरिकको निगरानीमा रहनुपर्ने उनको भनाइ थियो । जनताले आफनो अधिकारका लागि सडकबाट निरन्तर अधिकारको आवाज उठाउनुपर्ने भन्दै उनले भने, ‘सडकको अधीनमा सांसद, सांसदको अधीनमा सरकार हुनुपर्छ ।’
मिटरब्याजका पीडितलाई समेत भेटेका भट्टराईले आफूहरु सधैं पीडितको पक्षमा रहेको बताउँदै न्याय दिलाउने आश्वासन दिए । सडकमा सरकारले लगाएको निषेध तोड्नुपर्ने भन्दै यसका लागि कुनै पार्टीले सत्ताको आडमा जनताको आवाज बन्द गर्न नहुने उनको धारणा थियो ।
त्यस्तै, कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की भण्डारीले ठूलो आन्दोलन गरेर ल्याएको वर्तमान गणतन्त्र जनताको पीडा महसुस गर्न नसकेको बताइन् । उनले भनिन्,‘यति ठूलो आन्दोलन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, आजभोलि नेताहरुका भाषण सुन्दा लोकतन्त्र भनेको के हो भन्ने नै बिर्सियौं कि भन्ने लाग्छ मलाइ । लाोकतन्त्र नबिर्सेको भए आज हामी यो अवस्थामा हुँदैनथ्यौं ।’
संवेदशील क्षेत्रमा नियमन गर्नुपर्ने तर निषेधको राजनीति गर्न नहुने उनको तर्क थियो ।






